कुलमानका ४ वर्षः सुधारिएको प्राधिकरणमा के भए के भएनन्, थपिएला त कार्यकाल ?

आजभन्दा ठीक ४ वर्ष पहिले आजैको दिन सम्झौं । नेपाल विद्युत् प्राधिकरणको तालिका अनुसार बिहीबार ७ घण्टा विद्युत् काटिने तालिका थियो । बिहान ३ घण्टा र साँझ ४ घण्टा विद्युत् काट्ने गरी प्राधिकरणले तालिका बनाएको थियो । प्राधिकरणले सगौरव घोषणा गरेको, मोबाइल एप, फोटोकपी पसल र गोरखापत्रमा छापिएको सूचनामा यस्तै उल्लेख थियो । लोडसेडिङको जानकारी दिने माबोइल एप बनाउने स्टार्ट अप शुरु भइसकेका थिए । केही हुने क्रममै थिए । ती एपहरु मोबाइलमा ठूलो संख्यामा डाउनलोड भएका थिए । हरेक जसो मानिसको मोबाइलमा लोडसेडिङको तालिका अनिवार्य जस्तै बनेको थियो । मानिसहरु आशाको व्यापार गर्छन् । व्यापारशास्त्रमा निराशा नामको कुनै शब्द नै हुँदैन । जब निराशा देखियो, तब व्यापार डुब्यो । लोडसेडिङ सम्बन्धि एप त्यस्तो व्यापार भइदियो, जसले निराशामा पनि काम गर्यो । किनकी मानिसहरु बाध्य थिए । हरेक साता आउने लोडसेडिङको संशोधित सूचनामा उनीहरु अभ्यस्त थिए । सोही अनुसार दैनिक जनजीवन चल्थ्यो । पानी तान्ने, खाना पकाउने, मोबाइल फोन, इमर्जेन्सी लाइट चार्ज गर्ने जस्ता सामान्य काम पनि सोही तालिकामा निर्भर हुन्थ्यो । मानिसहरुमा एक प्रकारको न...